सुन्तलाको उत्पादन घट्यो, बजार मूल्य बढ्यो

बागलुङ — बागलुङको सिगानास्थित गणेश कृषि सहकारीका अध्यक्ष रामबहादुर खड्का यो वर्ष उत्साही बन्न सकेनन् । सोचे जति सुन्तला भित्र्याउन नपाएर उनी निराश भएका हुन् । बारीमा लगाएको २ सय २५ बिरुवाबाट उनले ६ लाख कमाउने योजना बनाएका थिए । तर कमाइ ५ लाखमा सीमित भयो ।
कोल्ड स्टोरमा राख्ने सपना तुहियो, बाँदरको आतंक हुन सक्ने डरले कात्तिकमै ठेकेदारलाई सुन्तला सुम्पे । पुससम्ममा त बारी निखारियो । उनको हातमा ५ लाख रुपैयाँ मात्रै प¥यो ।
सिगानाकै अनन्त खड्काले पनि सोचेजस्तो कमाइ गर्न नसकेको गुनासो गरे । ‘सिँचाइको समस्या, बाँदरको सास्ती र सुन्तलाको दाना सानो भएपछि सोचेजस्तो बजार पाउन सकिएन,’ खड्काले भने, ‘क्षेत्र बढाइरहेका छौं तर प्राविधिक रूपमा साथ र सहयोग बढाउन सकिएको छैन ।’ सुन्तला जोनको क्षेत्रमा परे पनि कार्यालय टाढा भएकाले दृष्टि नपुगेको उनीहरूको अनुमान छ ।
बागलुङ नगरपालिकाले प्याकेज र बजारीकरणमा साथ दिएपछि उत्पादनमा हौसिएका किसान प्राविधिक साथ नपाएर निराश छन् । कृषि ज्ञान केन्द्र र जोन कार्यालयबीच समन्वय अभाव भएको किसानको गुनासो छ । किसानले अन्न बाली छाडेर सुन्तला लगाउन थालेको १० वर्ष भयो । हाल उत्पादन भएको सुन्तला एक–दुई वर्षमै दोब्बर बनाउने गरी किसानले खेतबारीभरि सुन्तलाका बोट रोपेका थिए । तर, सोचेझैं उत्पादन गर्न नसकेको किसान बताउँछन् ।
बागलुङ नगरपालिका–८ को सिगाना, ९ को तित्याङ र १० को भकुन्डे सुन्तलाका लागि प्रख्यात छन् । त्यसबाहेक काठेखोला गाउँपालिका–२, ५, ६ र ७ मा पनि प्रशस्त उत्पादन हुने गरेको छ । जैमिनी नगरपालिका–२, ४, ५, ६ र ७ मा पनि सुन्तलाको उत्पादन राम्रो छ । तर, किसान प्राविधिक साथ नपाएको गुनासो गर्छन् । जसका कारण हरेक वर्ष उत्पादन बढ्नुको साटो दाना सानो फल्ने र बजारीकरणमा पनि अप्ठ्यारो भएको उनीहरूको भनाइ छ । अघिल्लो वर्ष ३० क्विन्टल सुन्तला बेचेका सिगानाका रामबहादुर खड्काले दुई वर्षभित्रै तीन गुणा फलाउने तयारी गरिसकेको बताए । तर अहिलेको झैं दाना सानो भएमा धान खेती मेटिने, सुन्तलाबाट फाइदा नपाउने हो कि भन्ने शंका मान्न थालेका छन् ।
आगामी वर्ष ५० क्विन्टल र दुई वर्षभित्र ६० क्विन्टलसम्म सुन्तला बेच्ने योजना खड्काले बनाएको सुनाए । ‘मैले मात्र होइन, गाउँका १ सयभन्दा बढी किसानले अहिलेको उत्पादन दोब्बर–तेब्बर बनाउने लक्ष्य राखेका छौं,’ खड्काले भने, ‘त्यसका लागि हरेक किसानले घरघरै १ सयदेखि ३ सयसम्म बिरुवा रोपेका छन् ।’ बागलुङ नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याएपछि किसान हौसिएर सुन्तला उत्पादन बढाउन थालेका हुन् । तर प्राविधिकको पनि नियमित साथ चाहिएको उनले जनाए ।
गत वर्षसम्म सिगानामा २ करोडको सुन्तला बिक्री हुने गरेको थियो । ‘घरसारमा खाएको हिसाब भएन तर व्यापारीलाई नै किसानले बेच्दा दुई करोडभन्दा बढी भित्रिएको थियो,’ खड्काले भने, ‘मकै, कोदो र धान खेतीसमेत मासेर किसानले सुन्तला लगाएका छन् ।’ बागलुङ नगरपालिकाको अनुदानमा गणेश कृषि व्यवसाय सहकारी संस्थामा आबद्ध एक सय किसानले सुन्तलाको बिरुवा पनि रोपेका छन् । खड्काको बारीमा बिरुवाको नर्सरीसमेत छ । मौसमले साथ दिँदा सुन्तलाको उत्पादन अत्यधिक हुने गरेको छ । तर पछिल्लो तीन वर्षदेखि हिउँदमा पानी परेको छैन । सिँचाइ अभावले सोचेझै उत्पादन नभएको उनले गुनासो गरे ।
सिगानामा २ सय क्विन्टको कोल्डस्टोर छ । तर बिजुली अभाव र अनियमित हुँदा राखेका सुन्तला कुहिएपछि अहिले राख्न छाडेका छन् । यस्तो समस्या काठेखोलामा पनि परेको स्थानीय बालानन्द कँडेलले गुनासो गरे ।
जसका कारण सुरुवातमै सुन्तला बेचेर सक्नुपरेको उनको भनाइ छ । कृषि ज्ञान केन्द्रको तथ्यांकमा पनि सुन्तला उत्पादन घटेको छ । बजार मूल्यअनुसार किसानको आम्दानी बढे पनि उत्पादन घटेको बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले बताए । चालु वर्ष बागलुङमा ३ सय ७७ हेक्टरमा ४ हजार ७१ टन सुन्तला फलेको हो । त्यसबाट किसानले २६ करोड मूल्य पाएका छन् । तर गत वर्ष सोही स्थानमा ४ हजार १ सय टन फलेको थियो । तर मूल्यमा भने गत वर्ष २२ करोड मात्रै किसानले पाएका थिए ।
आगामी दुई वर्षभित्र जिल्लाको सुन्तला उत्पादनको क्षेत्र ६ सय हेक्टर पुग्ने गरी तयारी भएको छ । तर, त्यसका लागि सिँचाइको अभाव भएको हो । ‘क्षेत्र विस्तार त गरिरहेका छौं तर हिउँदमा पानी पर्न छाडेपछि उत्पादनमा समस्या भएको हो,’ अधिकारीले भने, ‘त्यसका लागि ठूला सिँचाइ आयोजनाको आवश्यकता छ, त्यो काममा कृषि ज्ञान केन्द्रमा योजना छैनन् ।’ त्यसका लागि संघीय सरकारका योजना जोडिनुपर्ने आवश्यकता रहेको अधिकारीले जनाए ।
हाल जिल्लामा ८ सय व्यावसायिक किसानले सुन्तला खेती गरिरहेका छन् । त्यो संख्या बढाउन पनि उत्पादनमा आधारिक अनुदान, सिँचाइको व्यवस्थालगायतको लगानी थप्नुपर्नेछ । किसानको उत्पादनका आधारमा अनुदान दिन सके उत्पादन बढ्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । ‘अब उत्पादन हेरेर मात्र अनुदान दिने हो, त्यसले काम गर्ने किसानको प्रोत्साहन हुन्छ,’ पाण्डेले भने, ‘बजारीकरणमा भने हामी साथ दिनेछौं ।’
यातायातको असुविधा भएको गाउँमा उत्पादन राम्रो भए सडक स्तरीय बनाउने उनको भनाइ छ ।

साभार: कान्तिपुर

Leave a comment