काठमाडौं । नेपालका विभिन्न गाउँ–बस्तीमा उत्पादन भएका गुणस्तरीय कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्यका साथ तरङ्ग एग्रिकल्चर ट्रेड प्रा.लि. ले संयुक्त अरब इमिरेट्स (UAE) मा बजार विस्तारलाई तीव्र बनाएको छ।
यस अभियानअन्तर्गत दुबईस्थित रारा रोयल फुडस्टफ ट्रेडिङ एलएलसी (Rara Royal Foodstuff Trading LLC) सँगको सहकार्यमार्फत नेपाली कृषि उत्पादनहरू UAE बजारमा बिक्री–वितरण गर्ने प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ।
रारा रोयल फुडस्टफ ट्रेडिङ एलएलसीका प्रबन्ध निर्देशक विष्णु मणि भण्डारीका अनुसार, कम्पनीले खाद्य पदार्थ आयात तथा वितरण गर्दै UAE भरिका सुपरमार्केट, थोक बिक्रेता, होटल, रेस्टुरेन्ट तथा HORECA (Hotel, Restaurant and Catering) क्षेत्रमा उच्च गुणस्तरका खाद्य उत्पादनहरू आपूर्ति गर्दै आएको छ।
उनले नेपाली कृषि उत्पादनको गुणस्तर र सम्भावना अत्यन्त राम्रो रहेको उल्लेख गर्दै आगामी दिनमा नेपालबाट थप खाद्य तथा कृषि उत्पादन UAE बजारमा भित्र्याउने तयारी भइरहेको बताए। साथै, कम्पनीले भविष्यमा आफ्नो सेवा तथा वितरण सञ्जाल GCC (Gulf Cooperation Council) क्षेत्रका अन्य मुलुकहरूमा समेत विस्तार गर्ने योजना रहेको जानकारी दिए।
तरङ्ग एग्रिकल्चर ट्रेड प्रा.लि.ले नेपालका किसानबाट उत्पादित कृषि सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसँग जोडेर उचित मूल्य सुनिश्चित गर्ने, निर्यात प्रवर्द्धन गर्ने तथा नेपाली उत्पादनको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ।
यस सहकार्यले नेपाली किसानका उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने, निर्यात वृद्धि गर्ने तथा नेपालको कृषि अर्थतन्त्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।



