काठमाडौं । नेपाली किसानले गाउँगाउँमा उत्पादन गरेका कृषि सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्यका साथ तरङ्ग एग्रिकल्चर ट्रेड प्रा.लि. ले संयुक्त अरब इमिरेट्स (यूएई) मा कृषि उत्पादनको बिक्री–वितरण विस्तार गरेको जनाएको छ।
कम्पनीका अनुसार नेपालका विभिन्न जिल्लाका किसानसँग सहकार्य गर्दै गुणस्तरीय कृषि उत्पादन संकलन, छनोट, प्याकेजिङ तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयारी गरी यूएई बजारमा निर्यात तथा बिक्री–वितरणको प्रक्रिया अगाडि बढाइएको छ। यस पहलबाट नेपाली किसानले आफ्नो उत्पादनको उचित बजार तथा राम्रो मूल्य प्राप्त गर्ने अपेक्षा गरिएको छ।
कम्पनीले नेपालमा आधुनिक कृषि प्रविधि, गुणस्तरीय बिउबिजन, मल, विषादी, कृषि उपकरण तथा प्राविधिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। साथै, उत्पादनदेखि बजारसम्मको मूल्य शृङ्खलालाई सुदृढ बनाउने लक्ष्यका साथ अन्तर्राष्ट्रिय बजारसँग नेपाली किसानलाई जोड्ने अभियान सञ्चालन गरिरहेको जनाएको छ।
तरङ्ग एग्रिकल्चर ट्रेड प्रा.लि.का प्रबन्धक जनार्दन भण्डारीले नेपाली कृषि उत्पादनको अन्तर्राष्ट्रिय पहिचान बढाउन र किसानको आय वृद्धि गर्न निर्यात विस्तारलाई प्राथमिकता दिइएको बताए। कम्पनीले आगामी दिनमा यूएईसँगै अन्य अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली कृषि उत्पादन पुर्याउने योजना रहेको जनाएको छ।