देशैभरका किसानको उत्पादन अब सी व्यापार केन्द्रमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँमा आफ्नै लगानीमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ ।
बुढानीलकण्ठ नगरपालिकास्थित तल्लो पासीकोट पिपलचोकमा खोलिएको व्यापार केन्द्रको महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार उद्घाटन गर्नुभएको हो । देशभर उत्पादन गरेको सामानको बजारीकरण गर्ने नीतिअनुरूप केन्द्र खोलिएको नेता खगेश्वर केसीले बताउनुभयो । केसीले उत्पादन भएका आलु उद्योगी विनोद चौधरीको सिजी फुड्सलाई दिने गरी सहमति भएको बताउनुभयो ।
‘पार्टी महासचिव विप्लवको योजनाअनुसार ‘सी व्यापार केन्द्र’ स्थापना गरिएको हो । पार्टीकै लगानीमा व्यापार केन्द्र खोलिएको हो । अन्यको लगानी छैन । देशभर पार्टीले उत्पादन गर्ने आलु विनोद चौधरीको सिजी फुड्सलाई दिने सहमति भएको छ’, उहाँले भन्नुभयो, ‘आलुबाहेक तोरी, धान, गहुँ, फलफूल, जुस लगायत उत्पादन लगेर केन्द्रमा राख्छौँ । एक प्रकारले बिग मार्ट जस्तै बन्छ । त्यहीबाट बिक्री गर्छौँ ।’
‘सी व्यापार केन्द्र’ को उद्घाटन गर्दै नेकपा महासचिव विप्लवले वि.स. २०८४ मा नेपालको राजनीति उथलपुथल हुने दाबी गर्नुभयो । उहाँले २०८४ कायाकल्प हुने दाबी गर्नुभयो । ‘२०८४ सामान्य हुँदैन । उथलपुथल हुन्छ । कायाकल्प हुनसक्छ । एकपटक हामीले नयाँ तरिकाले सत्ताको नेतृत्व गर्ने चाहना छ । नेपालको राजनीतिलाई आकासबाट धर्तीमा उभ्याउन चाहन्छौँ । नेपाली जनताले एक पटक समाज हेर्न चाहेका छन् । आगामी निर्वाचनमा समाजवादी शक्ति एक भएर चुनावमा भाग लिन्छौँ’, उहाँले भन्नुभयो ।
आफू सत्ताकै लागि राजनीति गरेको भन्दै कसैसँग मागेर नभइ आफ्नै शक्तिमा सत्ताको नेतृत्व गर्न चाहेको जिकिर गर्नुभयो । ‘यहाँ प्रधानमन्त्री बन्न चाहना राख्नुभयो भन्नुभयो । हामीले सत्ता दिनोस् हजुर भनेर मागेको होइन’, उहाँले भन्नुभयो, ‘सत्ता नै नभए राजनीति धरापमा पर्छ । सत्ताकै लागि हामीले राजनीति गरेको हो । यो माग्ने चिज होइन नैसर्गिक अधिकार हो ।’
सी व्यापार केन्द्र उद्घाटन कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाको प्रवक्ता प्रकान्ड, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत नेता र व्यवसायिहरुको उपस्थिति रहेको थियो ।
सी व्यापारीक केन्दमा कास्कीमा उत्पादन भएको जेठो बुढो चामल, कपिलवस्तुको जिरा मसिनो चामल, मोटो चामल, बाग्लुङको टिमुर, चितवनको तोरी, चिउरीको मह, तोरीको मह, विषादी रहित धान, संखुवासभाको चिया(ग्रिन टि), सख्खर, कालिकोटको भैँसीको घिउ, कपिलवस्तुको कोलमा पिनेको तेल, जुम्लाको कागुनो, रातो मार्सी चामल, गुल्मीको बेसार, कपिलवस्तुको सुकुटी, गुल्मीको सखर, नुवाकोट ककनीको स्ट्रबेरी, काठमाडौमा उत्पादन भएको अचार र दोलखामा उत्पादन भएको आलु पाउन सकिने छ ।

Leave a comment